समाजवादको डिलमा

काङ्ग्रेस नेतृत्वले सत्ता एवं शक्तिको आशा र अग्रगमनको नाममा आफ्नो मौलिक समाजवादी धरातललाई छोडेकोले पनि केही मात्रामा नेपाली समाजको उग्रवामपन्थीकरणलाई सहयोग पुगेको हो। - डा.जुगल भूर्तेल

अन्ततः काङ्ग्रेसको नेतृत्व संसदीय दलको नेताको निर्वाचन गरेर पार्टीमा लोकतान्त्रिक पद्धतिको अभ्यास गर्न बाध्य भएको छ। निर्वाचनमा रामचन्द्र पौडेलको विजयले काङ्ग्रेसजनलाई कोइराला-देउवा भागबण्डाको दुष्चक्रबाट पार्टीलाई मुक्त गर्न सकिने झ्िनो आत्मविश्वास दिलाएको हुनुपर्छ। नेपाली काङ्ग्रेसमा शेरबहादुर देउवालाई गिरिजाप्रसाद कोइरालापछि पार्टी नेतृत्वको स्वाभाविक दावेदार ठानिएको बेला पौडेल र उनका समर्थकहरूले कोइरालाको समेत समर्थन पाएका देउवालाई पराजित गरेर त्यो दाबीलाई ठूलै चुनौती दिएका छन्। पौडेलको विजयसँगै काङ्ग्रेसमा देखिएको नयाँ ध्रुवीकरणका कारण परिवारवाद स्थापित गर्ने कोइरालाका प्रयासहरू समेत अस्वीकृत हुने लक्षण देखिएका छन्।
पछिल्लो समयमा जुन गतिमा मुलुकका पारम्परिक संस्था र मान्यताहरू धरासायी भएका छन्, त्यसको प्रभाव काङ्ग्रेस जस्तो नेपाली राजनीतिको एउटा प्रमुख केन्द्रमा पर्नु स्वाभाविकै हो। सुजाता कोइरालाको नेतृत्वमा सरकारमा काङ्ग्रेसलाई सहभागी गराएपछि उत्पन्न पार्टीभित्रको तीब्र विरोधलाई शुरुमा वरिष्ठ नेताहरूले आफू नपरेका कारण प्रकट गरेका असन्तुष्टिको रूपमा बुझ्िए पनि त्यसले सामन्तवादविरोधी चेतना काङ्ग्रेसभित्र पुनर्जागृत भएको यथार्थलाई इङ्गित गरेको छ। गहन राष्ट्रिय जिम्मेवारी बोकेको यस लोकतान्त्रिक दललाई अब तदर्थवादी ढङ्गले चलाउन नदिने विद्रोही नवचेतना काङ्ग्रेसजनमा आएको हो भने त्यो मुलुकका लागि निकै उत्साहजनक सङ्केत हो।

मूलतः समाजवादी चिन्तन र अपेक्षाकृत स्वच्छ छवि भएका पौडेल कुनै जमानामा बीपी कोइरालाले निकै आशा र विश्वास गरेका युवामध्ये एक थिए। आज त्यो जोशिलो उमेर नरहे पनि आफूलाई स्थापित गर्न पौडेलले गम्भीर भएर बीपीका कस्ता आदर्शले काङ्ग्रेसलाई जनप्रिय बनाएका थिए र तात्कालीन युवा कार्यकर्ताबाट बीपीले के, कति र कस्तो अपेक्षा राखेका थिए भन्ने स्मरण गर्न जरुरी छ। काङ्ग्रेस नेपाली समाजमा गहिरो जरा गाडेको रूख भएपनि दुई दशकदेखि त्यसलाई पार्टीभित्र क्रमशः भित्रिएको अनेकन् बेथितिरुपी धमिराले खोक्रो पारेको छ। बीपीको सपना पूरा गर्नका लागि हजारौं युवालाई क्रान्ति र समाज परिवर्तनको संवाहक बन्न प्रेरित गर्ने त्यो काङ्ग्रेस र हरदम राजधानीको फोहोरी सत्ता समीकरणमा अल्झ्ेको यो काङ्ग्रेसमा आधारभूत भिन्नता छन्। लोकतन्त्र, समाजवाद र राष्ट्रियताको सवालमा पुरानो काङ्ग्रेसले कहिल्यै सम्झ्ौता गरेन। त्यो जनतासँग जोडिएको क्रान्तिकारी पार्टी थियो। तर आजको काङ्ग्रेस सत्ता र शक्तिको खेलमा निरन्तर अल्झ्िएर जनसम्पर्कको इतिहास क्रमशः भङ्ग हुँदै गएको अवस्थामा छ।

बीपीका प्रायः सबै सम्बोधनमा युवापुस्तामाथि अथाह विश्वास झ्ल्कन्थ्यो। जीवनपर्यन्त उहाँले युवाहरूलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्वबोध गराइरहनुभयो। जनमत सङ्ग्रहमा पराजय व्यहोर्दा पनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन। जनतालाई प्रीतिकर नलागे पनि कालान्तरमा मुलुकको हित हुन्छ भने जस्तोसुकै अलोकप्रिय निर्णय लिएर जोखिम उठाउन तयार राष्ट्रवादी नेता नै अन्ततः राजनेता बन्छ भन्ने प्रमाणित गर्दै उहाँले सहजतापूर्वक बहुदलको हारलाई स्वीकारेर मुलुकमा विदेशी चलखेलको सम्भावनालाई पूर्णतः परास्त गरिदिनुभयो। मुलुक टुक्राटुक्रामा विखण्डित होस् तर आफूले मात्र कुर्सीको सुख पाउनुपर्छ भन्ने मान्यता बोकेर आफ्नो पक्षमा कुरा मिलाइमाग्न विदेशी दूतावास धाउने अहिलेका कथित राष्ट्रवादी जमातको घिनलाग्दो ताण्डव हेर्दा बीपीको त्यो दूरदर्शिताको महत्व राम्ररी बुझन सकिन्छ। अहिले मुलुकमा जुन विदेशी सल्बलाहट छ, त्यही हुन नदिन बीपीले नेपाल फर्किएर आफ्नो जीवन उत्सर्ग गर्नुभएको थियो। काङ्ग्रेसी युवाहरू बहुदलको अप्रत्यासित हारले निराश त थिए नै, उहाँको जनमतसङ्ग्रहको परिणामलाई स्वीकार्ने अचम्मको निर्णयले निकै क्रूद्ध पनि भए। तर आफ्ना हजारौं राजनीतिक सहयात्रीहरूलाई त्यसरी निराश भएर भड्किन नदिई विद्रोहको आगोलाई निरन्तर प्रज्ज्वलित राखेर बीपीले विलक्षण राजनीतिक क्षमताको प्रदर्शन गर्नुभयो।

विपीको सपना पूरा गर्नुलाई असङ्ख्य युवाले ठूलो उत्साह र अठोटका साथ आफ्नो जीवनको अभीष्ट बनाएका थिए। पञ्चायती अधिनायकवादको त्यो आतङ्कपूर्ण समयमा उहाँको अनुसरण गर्दा कुनै पदले पुरस्कृत हुने सम्भावना थिएन, बरु अराष्ट्रिय तत्वको डाम लागेर भविष्यमा जागिर खान अयोग्य ठहरिनु वा कारागारको जीवन बिताउनुपर्ने जोखिम थियो। तर पनि बीपीको त्याग, समर्पण र निष्ठाको शक्तिले योग्य युवाहरूको ठूलो जमातमाझ् क्रान्तिको मशाल निभ्न नदिन प्रेरित गरिरह्यो। कालान्तरमा त्यही ज्वालाले नेपालमा ठूलाठूला लोकतान्त्रिक परिवर्तन गरायो र हरेक पटक काङ्ग्रेस नै पुरस्कृत भइरह्यो।
अहिले इतिहास अश्रुपुरित नेत्रले काङ्ग्रेसजनतिर हेरिरहेको छ। बीपीको सङ्घर्ष र योगदानको ब्याज खाएर बाँचेको पार्टीका सभापति आज मुलुकका हरेक सानाठूला समस्याको समाधानका लागि विदेशी गुहार्नुपर्ने त्रासद समयका दयनीय नायक भएका छन्। पार्टीमा गिरिजाप्रसादको मात्र होइन बीपीले स्नेह र विश्वास गरेको उसबेलाको युवापुस्ताको पनि हालीमुहाली छ। बीपीको सपना र समाजवादको कथालाई चुनावमा यदाकदा सम्झ्ना गरेपनि हिजोको क्रान्तिकारी युगसँग अब तिनको कुनै सरोकार रहेन। सत्तामा पुगेपछि क्रान्तिका आदर्शहरू क्रमशः क्षय हुँदै जान्छन्, तर काङ्ग्रेसमा अकल्पनीय तीब्रताका साथ तिनको ह्रास भयो। आफ्ना मान्छेलाई लाभको पदमा पुर्‍याउन दलभित्र ६० र ४० को अव्यक्त भागबण्डा छ। फलस्वरुप कोइराला र देउवाको परिक्रमा गरे पुग्ने संस्कारमा एउटा विचारशून्य जमात हुर्किएको छ, जसमा आम काङ्ग्रेसजन र पार्टीलाई श्रद्धा गर्ने लाखौं जनताको संवेदनालाई बुझने क्षमता छैन।

पछिल्लो दुई दशकदेखि काङ्ग्रेसभित्र न कुनै लोकतान्त्रिक पद्धतिको विकास हुनसकेको छ, न पार्टीलाई वैचारिक रूपमा अघि बढाउने अभियान नै चलेको छ। कोइरालाको खल्तीबाट जुन कागज निस्कन्छ त्यही नै नियम हुन्छ, उहाँले छानेको मान्छे नै योग्य मानिन्छ। उहाँले मा'वादीसँग मिल्नुपर्छ भन्दा सबै अँगालो हाल्न दौडन्छन्, भिड्नुपर्छ भन्दा सुरक्षाको कवच समेत नलगाई भिड्न तयार हुन्छन्। गिरिजाबाबु हामी सहमत हुनसकेनौं, सर्वमान्य तपाईंकै निर्णय हामीलाई शिरोपर छ भनेर बारम्बार आग्रह गर्नु र उहाँको निर्णय आफ्नो पक्षमा नदेखिए मात्र पद्धतिको कुरा उठाउनु दोस्रो पुस्ताका नेताहरूको नियति बनेको छ। र, त्यही नै लोकतान्त्रिक आचरण को रूपमा पार्टीमा स्वीकृत छ। नरहरि आचार्य र गगन थापाहरूले गणतन्त्र को कुरा उठाउँदा त्यो दण्डनीय ठहरिन्छ, कोइरालाले उच्चारण गरेपछि काङ्ग्रेस स्थापनाकालदेखि नै गणतन्त्रवादी दल भएको ऐतिहासिक तथ्यको स्मरण हुनथाल्छ। विचार प्रवाह गर्नेलाई पुरस्कृत गर्नु सट्टा उपेक्षा र अझ् मानमर्दन नै गर्ने प्रचलनले गर्दा काङ्ग्रेसमा केही अपवादलाई छाडेर सबै पुस्ताका नेता कार्यकर्तामा मौन रहेर आज्ञाकारी देखिन चाहने संस्कृति विकसित भएको र बौद्धिक चिन्तनको कहालीलाग्दो दरिद्रता छाएको देखिन्छ। निष्ठाको राजनीति गर्नेहरू पलायन र उपेक्षित भएर शैलजा दिदीको जस्तो आवाजहीन मृत्युवरण गर्न बाध्य छन्। मुलुकको कार्यसूची निर्धारण गर्ने नेतृत्वदायी भूमिकाको त कुरै छाडौं; राष्ट्रिय महत्वका विषयमा समेत या त पार्टीको आफ्नो कुनै ठोस धारणा छैन, या त्यो सबैभन्दापछि र निकै यथास्थितिवादी देखिने ढङ्गले प्रकट हुने गरेको छ। तदर्थवाद र नातावादले खोक्रो पारेर हिङ बाँधेको टालो जस्तो भएको काङ्ग्रेस अहिले पराइको एजेण्डामा नाच्न अभिशप्त देखिन्छ।

पौडेलले अब संसदीय दलको मात्र होइन समग्र काङ्ग्रेसजन एवं लोकतन्त्रमा आस्था राख्ने आम नेपालीको नेता हुनलाई पार्टीप्रतिको यो वितृष्णालाई दृढतापूर्वक पखालेर परिवर्तनको आभास दिन सक्नुपर्छ। सुजाता प्रकरणपछि प्रचण्डपथमा बेतोडले दौडिएको पार्टीलाई टक्क अडिएर आत्ममूल्याङ्कन गर्ने अवसर हो यो र पौडेलले यही स्थितिको फाइदा उठाउनुपर्छ।सत्तारोहणका लागि जनसम्पर्क भन्दा देशी-विदेशी राजधानीका अन्य सहज माध्यमहरू उपलव्ध हुन थालेपछि झ्ण्डै एकदशकदेखि गाउँगाउँमा मा'वादीको प्रताडना सहेर बसेका वा विस्थापित भएका काङ्ग्रेस कार्यकर्ताको घाउमा स्नेहलेप लगाउन नेतृत्ववर्ग पुगेको छैन। कोइरालालाई अहिले शक्तिले अलिकति दिग्भ्रमित तुल्याएको भएपनि युवा अवस्थामा जनतामाझ् बिताएको समयले नै काङ्ग्रेसका अन्य नेता भन्दा अग्लो बनाएको हो। यही यथार्थलाई मनन् गर्दै पौडेलले काङ्ग्रेसमा रहेको सानो तर आशलाग्दो जुझ्ारु युवा जमातलाई साथ लिएर जागरण अभियान थाल्ने हो भने स्वतन्त्रताप्रेमी नेपाली जनताले अन्ततः बीपीको पार्टी फेरि आफ्नो घरदैलोमा फर्केकोमा हर्षित भएर आलिङ्गन गर्नेमा सन्देह छैन।

काङ्ग्रेसले अब सत्ता एवं शक्तिको आशा र अग्रगमनको नाममा पपुलिष्ट बनेर र्‍याडिकलहरूलाई कर्णप्रिय लाग्ने हरेक जायज-नाजायज विषयमा सम्झ्ौता गर्दै अरूका एजेण्डालाई पछ्याउन छोड्नुपर्छ दातृसमुदायको दबाब र प्रलोभनमा पार्टीले आफ्नो समाजवादी धरातललाई छोडेकोले पनि केही मात्रामा नेपाली समाजको उग्रवामपन्थीकरणलाई सहयोग पुगेको हो। बीपीको सम्झ्ना गर्नुको अर्थ पार्टीको प्रजातान्त्रिक समाजवादी धारलाई पुनः मूलधारमा परिणत गर्नु पनि हो, जसले समग्र संविधान र संघीयताको सवालमा काङ्ग्रेसको स्पष्ट धारणा सार्वजनिक गर्न मद्दत गर्नेछ। त्यसरी मात्र पार्टीलाई साँचो अर्थमा जनमुखी बनाउन र मुलुकको सार्वभौमिकता र जातीय सद्भावलाई अक्षुण्ण राख्ने आजको प्रमुख चुनौतीलाई दृढतापूर्वक सामना गर्न सकिन्छ। समाजवादी चिन्तन बोकेका बीपीका अनुयायी रामचन्द्र पौडेलका लागि त्यही नै सबैभन्दा स्वाभाविक बाटो पनि हो।

जतिसुकै कम्युनिष्ट बढेको कोलाहल गरे पनि छिमेकी भारतमा हालै भएको निर्वाचन परिणामले पनि पुष्टि गर्छ, हाम्रो जस्तो समाजमा उदार लोकतन्त्रप्रति समर्पित मध्यमार्गी दलको सान्दर्भिकता कहिल्यै समाप्त हुँदैन। नेपाली काङ्ग्रेसको नवजीवनका लागि यहाँ पनि पार्टीको वर्तमान नेतृत्वप्रति मोहभङ्ग भएका उदार लोकतन्त्रप्रति समर्पित जनताको ठूलो समूहलाई फर्काएर ल्याउन सक्ने क्षमतावान् नेतृत्वको खाँचो छ। यही आवश्यकताबोध भइरहेको समयमा काङ्ग्रेसलाई खियाइरहेको कोइराला-देउवा गोलचक्करलाई तोडेर पौडेलले मुलुकमा ठूलै तरङ्ग ल्याएका छन्। आउँदा दिनमा नेपाली समाजले निकै अपेक्षाका साथ उनको नेतृत्वको सूक्ष्म परीक्षण गर्नेछ।
साभार: हिमाल खबरपत्रिका

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?