एसएलसीपछि ढुंगा बोक्दै
उनको दिनभरिको साथी हो, जो दिनैभरि उनको बुइ चढ्छ । बिहानै डोको बोकेर ढुंगाको खोजीमा निस्कनु र झम्केसाँझ परेपछि घर र्फकनु सुशीलाको नियमित कर्म हो । सुशीला परियारको डोको बाँस वा निगालाको छैन । उनले मरेको भैँसीको छाला मोडेर डोको बुनेकी छिन् । बाँस वा निगालाको डोको महँगो पनि हुने र टिकाउ पनि कम हुने भएकाले उनले छालाको डोको प्रयोग गर्न थालेकी रहिछिन् । 'यो त अलि बढी नै टिक्छ,' डोको सुमसुम्याउँदै सुशीलाले भनिन् । छालाको त्यही डोको बोकेर ढुंगासँग मितेरी लगाउन थालेको दुई महिना बितिसकेछ । आजभोलिका साँझ-बिहानहरू यसरी बित्नुमा उनको ११ वर्षे उमेरमा बुनेको सपनाको उत्प्रेरणा छ । ११ वर्षको छँदा ममतामयी आमालाई गुमाएपछि स्थानीखाल, सल्यानकी सुशीलाले नर्स पढ्ने सपना बुनेकी रहिछिन् । 'त्यही सपना पूरा गर्न अहिले हाड घोट्दै छु,' उनले भनिन् । घरको आम्दानीले साँझ बिहानको छाक टार्न पनि मुस्किल हुन्छ । अनि, गतिलो जिन्दगीको सपना देख्नेसँग मजुदरी गर्नुको विकल्प नै के हुन्छ र ?
सपना देख्न सजिलो छ, तर पूरा गर्न कठिन । त्यो पनि दलित र विपन्न परिवारकी किशोरीको सपना कसरी पूरा होला ? सुशीलाबारे थाहा पाउने धेरै गाउँलेले यस्तै भन्छन् । तर, उनले हार मानेकी छैनन् । नर्स पढ्न आर्थिक स्रोत जुटाउने अन्य माध्यम नदेखेपछि गाउँमा निर्माण हुँदै गरेको सडकमा ढुंगा बोक्न थालेकी छिन् सुशीलाले । 'एक दिनमा ८० देखि एक सय रुपैयाँसम्म आम्दानी गर्छु,' उनले आफ्नो आम्दानी विवरण बताइन् । सडकमा दिनभरि उनको काम पुरुषसरह नै हुन्छ । तर, ज्याला नि ? 'लोग्नेमान्छेले पाउनेभन्दा आधा मात्र -ज्याला) पाउँछु,' सुशीलाले भनिन् । परिश्रम एउटै छ, ज्याला भने लिंगले निर्धारण गर्छ । 'महिला र पुरुषमा विभेद गर्न नहुने भन्ने कथन उनले पनि सुनेकी रहिछिन् । तर, आफ्नै परिश्रममा विभेद भएको उनी बताउँछिन् । सल्यानमा क्रियाशील एक गैरसरकारी संस्थाको सहयोगमा निर्माण हुँदै गरेको सडकमा उनीसँगै काम गर्ने पुरुषले दैनिक साढे दुईदेखि तीन सयसम्म पाउँछन् । सुशीलाको भने त्यसको आधा पनि हुँदैन ।
सुशीलाले यसै वर्ष लक्ष्मी माध्यमिक विद्यालय स्थानीखालबाट एसएलसी परीक्षा दिएकी छिन् । परीक्षालगत्तै नर्स बन्ने आफ्नो सानैदेखिको सपना पूरा गर्न सडकमा ढुंगा बोक्न थालिन् । सहरबजारतिर एसएलसीलगत्तै उच्च शिक्षाको तयारी गर्न हजारौँ रकम खर्च गरेर बि्रजकोर्स गर्नेहरू छन् । गाउँठाउँमा पनि हुनेखानेका बालबालिकाहरू नतिजापछिका योजना बनाउँदै होलान् । तर, सुशीलाको तयारीकक्षा भनेको त्यही छालाको डोको बनेको छ, उनको बि्रजकोर्स भनेको सडक-निर्माणका तिनै ढुंगाका भारी भएका छन् ।
नर्स बन्ने सपना बुनेकी सुशीला रातभरि तयारीका पुस्तक पढ्छिन्, दिनभरि त्यसलाई पूरा गर्न मजदुरी गर्छिन् । दिनभरिको थकान भए पनि सपना साकार पार्न दियालो बाली राति पढ्ने रुटिन छ उनको । ग्रामीण क्षेत्रमा बसोवास गर्नेले उच्च शिक्षाको चाहना राख्नु अपराध त होइन । तर, पूरा गर्न कम गाह्रो भने छैन ।
एसएलसी परीक्षाको नतिजा प्रकाशन हुन अब धेरै समय छैन । परीक्षा दिएका विद्यार्थीहरूलाई नतिजाको निकै चासो होला । तर, उनलाई त्यसभन्दा पनि उत्तीर्ण भएलगत्तै उच्च शिक्षा हासिल गर्ने रकम र नतिजा दुवैको चासो उत्तिकै छ । भनिन्, 'मेरो दुवै सपना पूरा गर्न अझै परिश्रम गर्न तयार छु ।' परिश्रमको फल मीठो हुन्छ भन्ने गुरुहरूबाट सुनेकी सुशीलाको परिश्रमको फल मीठो वा अमिलो के हुने हो, त्यो जिम्माचाहिँ भविष्यकै गर्भमा ।
साभार नयाँ पत्रिका
check out the rest of the Windows Live™. More than mail–Windows Live™ goes way beyond your inbox. More than messages

Comments