आइन्स्टाइन, जो कहिल्यै रमाउन पाएनन्


 आइन्स्टाइनको टाउको असामान्य रूपमा ठूलो थियो भने शरीर अमिल्दो र अविकसित जस्तो । हातखुट्टा त्यत्तिकै छोटा थिए । जन्मिनेबित्तिकै रुनुपर्ने बच्चा रोएन पनि । बाबुआमालाई लाग्यो- यस्तो कुरूप र असामान्य बच्चामा जीवनशक्ति कम छ । यो बच्चा कुनै पनि वेला कालको सिकार हुन सक्छ, बाँचे पनि रोगी हुनेछ ।

सन् १९१९, नोभेम्बरको पहिलो साता सिंगो बेलायतमा खुसीयाली छाइरहेको थियो । पहिलो विश्वयुद्ध समाप्तिको वर्षगाँठमा अनेकन कार्यक्रम भइरहेका थिए । झन्डै पाँच वर्षसम्मको महायुद्धमा दुई करोडभन्दा बढी मान्छेले अकाल मृत्यु बेहोरेका थिए ।

ठीक त्यति नै वेला, युद्धबिरामको चर्चा र हर्षपूर्ण परिदृश्यलाई एउटा चमत्कारपूर्ण समाचारले विशृंखलित पार्‍यो । विश्वको ध्यान एकाएक अर्को विषयमा केन्दि्रत भयो । सात नोभेम्बरको त्यो बिहान 'टाइम' अखबारले छाप्यो- 'विज्ञानको क्षेत्रमा चमत्कार । महान् वैज्ञानिक न्युटनको सिद्धान्त गलत सावित ।' खबर प्रकाशित भएको अर्को साँझ रोयल सोसाइटी अफ लन्डनको जरुरी बैठकमा समाचारको सत्यतामाथि चर्चा-परिचर्चा भयो । बैठकले भर्खरै मात्र सकिएको सूर्य-ग्रहण र त्यसको अध्ययन प्रतिवेदनमाथि समीक्षा गर्‍यो । प्रतिवेदनले नै अल्बर्ट आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तलाई पुष्टि गथ्र्यो । संसारभर आगोझैं फैलिएको यस समाचारबारे रोयल सोसाइटीका अध्यक्ष जोसफ जोन थम्सनले प्रतिक्रिया दिए, 'यो खोजले विज्ञानमा नयाा क्षितिज पहिल्याएको छ । हामी कल्पना नै गर्न सक्दैनाँै कि अबको एक-दुई सय वर्ष कति चमत्कारपूर्ण होला भनेर ।'

रोयल सोसाइटी अफ लन्डनले सन् १९१९ मा प्रमाणित गरेको सापेक्षतावादलाई अल्बर्ट आइन्स्टाइनले सन् १९०५ मै खोज गरिसकेका थिए । खोजको झन्डै डेढ दशकपछि मात्र उनको त्यो सिद्धान्त सार्वजनिक भयो । यही सिद्धान्तले आइन्स्टाइनलाई विज्ञान-पिताका रूपमा स्थापित गरायो । त्यसो त, भौतिक विज्ञान र गणितका क्षेत्रमा उनका त्यतिकै महत्त्वपूर्ण अरु सिद्धान्त पनि छन् । सापेक्षता सिद्धान्तले आणविक ऊर्जाका विषयमा महत्त्वपूर्ण सूत्र दिलायो । यही सूत्रको भयानक सम्भावनाको पुष्टि थियो- १९४५ मा जापानको नागासाकी र हिरोसिमामा खसालिएको 'अणु बम' । भलै उनको त्यो खोजलाई अमानवीय कर्मका लागि प्रयोग गरिएको थियो । यस कार्यप्रति आइन्स्टाइन स्वयं पछुताएका थिए । तर, विज्ञानतः त्यो एउटा सिद्धान्तको प्रयोग पनि थियो । विज्ञान अध्येता फिलिप केनका शब्दमा- 'कुनै चार किलो मात्रको पदार्थले संसारलाई एक महिनाभरि चाहिने ऊर्जा उत्पादन हुन सक्छ ।' केनको यो भविष्यवाणी आइन्स्टाइनको खोजको सकारात्मक तर्कस्वरूप चर्चामा आउने गर्छ ।

प्रतिभा र लगनको पर्यायका रूपमा प्रसिद्ध आइन्स्टाइनको दिमाग अहिलेसम्म पनि अमेरिकाको न्युजर्सीस्थित पि्रन्सटन अस्पतालमा सुरक्षित राखिएको छ । डाक्टर पायस स्टाज हार्वेले आइन्स्टाइनलाई अन्तिम संस्कार गर्नुअघि अध्ययनका लागि भनेर उनको मस्तिष्कको 'ग्रेमिटर' निकालेर सुरक्षित राखेका हुन् । 'विलक्षण प्रतिभाको खोजका लागि आइन्स्टाइनको भन्दा उपयुक्त दिमाग यो संसारमा कसको हुन सक्ला र ?' डाक्टर हार्वेले एउटा डायरीमा लेखेेका छन्- 'त्यसैले मैले उनको दिमाग सुरक्षित राख्ने साहस गरेँ ।'

आइन्स्टाइन र उनका उपलब्धिलाई जोडेर चर्चा हुने किम्बदन्ती कम छैनन् । थोरैलाई मात्रै थाहा छ कि यति धेरै उपलब्धि हासिल गर्ने आइन्स्टाइनको जीवन अत्यन्तै कहालीलाग्दो थियो । जीवनमा उनले यति धेरै चुनौती झेले र आरोह-अवरोह छिचोले कि, यिनैले उनलाई एउटा पूर्णमान्छे बनाए । एस मार्सेलका भाषामा 'आइन्स्टाइन वैज्ञानिक मात्र होइनन्, उनी अत्यन्तै असल मान्छे र जीवन बुझेका प्राणी पनि हुन् ।'

दक्षिण जर्मनीस्थित उल्म सहरमा १८७९, मार्च १४ मा जन्मेका आइन्स्टाइनको शिशुकाल त्यत्तिकै कारुणिक प्रतीत हुन्छ । परिवार विपन्न थियो । पिता हर्मन फेरी बिजुलीसम्बन्धी स-साना सामग्रीको व्यापार गर्थे । आम्दानी राम्रो थिएन । आइन्स्टाइनलाई जन्माएकी सुत्केरी आमा पाउलिनले समेत साना बालबालिकालाई पढाउने काम गर्नुपर्‍यो । आर्थिक अभाव र सुत्केरी भाउजूको दुःखलाई देखेका हर्मनका भाइ फ्र

ेडि्रकले उनीहरूलाई उल्म सहर छोडेर अन्तै बसाइँ सर्न आग्रह गरे ।

प्रसूतिको ४० दिनसम्म थलो छोड्न नहुने यहुदी परम्परापछि हर्मनको परिवार उल्म सहरबाट म्युनिख बसाइँ सर्‍यो । नयाँ स्थानमा पुगेर पाउलिनले आफ्नो पढाइ पूरा गर्ने योजना बनाएकी थिइन् । नयाँ स्थानमा नयाँ तरिकाले जीवन जिउने योजनाको फेरोमा हर्मन र पाउलिनले नवजात शिशु आइन्स्टाइनलाई त्यति धेरै ख्याल गर्न सकेनन् ।

आइन्स्टाइनको टाउको असामान्य रूपमा ठूलो थियो भने शरीर अमिल्दो र अविकसित जस्तो । हातखुट्टा त्यत्तिकै छोटा थिए । जन्मिनेबित्तिकै रुनुपर्ने बच्चा रोएन पनि । बाबुआमालाई लाग्यो- यस्तो कुरूप र असामान्य बच्चामा जीवनशक्ति कम छ । यो बच्चा कुनै पनि वेला कालको सिकार हुन सक्छ, बाँचे पनि रोगी हुनेछ ।

१८७९ को अपि्रल महिनामा म्युनिख आएको हर्मन परिवारले भाइसँग मिलेर बिजुलीका सामग्रीको लघुउद्योग सुरु गर्‍यो । यससँगै हर्मन दम्पती दिनको २० घन्टासम्म काममा खट्न थाल्यो । उत्पादन र बिक्री राम्रो हुन नसकेकाले कहिलेकाहीँ त दम्पती चौबीसै घन्टा व्यस्त हुनुपथ्र्यो । यसैले शिशु आइन्स्टाइनप्रति उनीहरूले ध्यान पुर्‍याउन सकेनन् । बच्चाले वेलामा आमाको दूध खान पाएन । कहिलेकाहीँ त तीन दिनसम्म आमाको काखमा बस्न पाउँदैनथ्यो ।

परिवार लघुउद्योग रहेको स्थाननजिकैको एउटा कोठामा बस्थ्यो । हर्मन, उनकी पत्नी र हर्मनका भाइ फ्र

ेडि्रक अधिकांश समय घरबाहिर हुन्थे । बच्चा आइन्स्टाइन घरको छतमा ओछ्यानमा एक्लै पल्टिरहेका हुन्थे । कहिले रुने, कहिले आफैसँग खेल्ने र कहिले शिथिल एवं चेतनाशून्यजस्तो भावमा हराउने शिशु आइन्स्टाइनको अवस्था दयनीय थियो । आइन्स्टाइनले बाल्यकालका तीन वर्ष एक्लै ओछ्यानमा खेलेर बिताउनुपर्‍यो

सामान्य स्थितिमा बच्चा एक-डेढ वर्षमा हिँड्न सुरु गर्छ । दोस्रो वर्ष सुरु नहुँदै बोल्न थाल्छ । तर, आइन्स्टाइन भने तीन वर्षसम्म पनि न आफैमा थिर्किन सके न त बोल्न नै । उनको टाउकाको बनोट असामान्य थियो । शरीर अमिल्दो र असुहाउँदो थियो । सायद यसै कारणले बाबु-आमाले उनीप्रति त्यति चासो दिएका र ध्यान पुर्‍याएका थिएनन् । यो कुरा हर्मनले पछि आफ्ना छिमेकीहरूलाई बताएका थिए । यसैबीच, हर्मन दम्पतीले छोरी जन्मायो । छोरीको नाम थियो- माल्या । माल्या दुई वर्ष नपुग्दै हाँस्ने, बोल्ने र दौडन सक्ने भइसकेकी थिइन् । तर, आइन्स्टाइन भने चार वर्ष भइसक्दा पनि बहिनीको बोली सुनेर हाँस्न सक्ने मात्र भएका थिए । माल्याले तोतेबोलीमा आफ्ना बाबुआमासँग गफ गर्दा आइन्स्टाइन ट्वाल्ल परेर हेर्थे ।

पाँच वर्ष लागेपछि भने आइन्स्टाइनमा केही सुधारका संकेत देखिए । उनी माल्यासँग खेल्न थाले । अस्पष्ट र सांकेतिक रूपमै भए पनि बोल्न थाले । यसले आमाबाबुलाई छोराप्रतिको आशा जगायो । बल्ल उनीहरूले छोराको भविष्यलाई लिएर सपना देख्न थाले । हर्मन चाहन्थे- छोरो नामी इन्जिनियर बनोस् । तर, आमा भने आइन्स्टाइन राम्रो संगीतकार बनोस् भन्ने चाहन्थिन् । यही क्रममा बाबुले पाँचवर्षे आइन्स्टाइनलाई एक दिन कम्पास किनेर ल्याइदिए । छोराको शारीरिक अवस्था कमजोर भएर दौडिन र खेल्न नसक्ने भएकाले उनले कम्पासलाई खैलौना स्वरूप छोरालाई दिएका थिए । नभन्दै कम्पासका सुई घुमेको देखेर आइन्स्टाइनको खुसीको सीमा रहेन । उनी पटक-पटक कम्पास घुमाएर भुइँमा वृत्ताकार रेखाचित्र बनाउने गर्थे । पाउलिनले पनि छोरालाई भ्वाइलिनजस्तै वाद्ययन्त्र ल्याइदिएकी थिइन् ।

समय बित्दै गयो । पाँच वर्षछि बल्ल आइन्स्टाइनका लागि स्कुलको खोजी भयो । म्युनिखवरपर यहुदी स्कुल थिएन । जर्मनमा यहुदीप्रति घृणा फैलन थालेको थियो । त्यसैले आइन्स्टाइनले म्युनिखको कुनै स्कुलमा भर्ना पाएनन् ।

हर्मनको अथक प्रयासपछि आइन्स्टाइनलाई म्युनिखदेखि दुई किलोमिटर पर रहेको क्याथोलिक चर्चले सञ्चालन गरेको एउटा स्कुलमा भर्ना मिल्यो । तर, त्यो स्कुलमा अल्बर्टलाई गि्रक अथवा ल्याटिन कक्षामा बस्ने अनुमति दिइएन । उनलाई जर्मन र गणित शिक्षा मात्र पढ्ने अवसर मिल्यो । हर्मनलाई लाग्यो- छोराले गणित राम्ररी पढ्न सक्दैन । उसको शारीरिक अवस्था त कमजोर थियो नै, त्यसमाथि सोच्ने शक्ति पनि कमजोर छ भन्ने लाग्दथ्यो उनलाई । तर, काका

फ्र

ेडि्रक भने वेलावेलामा 'आइन्स्टाइनको गणितमा राम्रो दक्षता छ' भनेर हौसला दिइरहन्थे । उनी साँझको समयमा एकाध घन्टा आइन्स्टाइनलाई पढाउँथे । हरेक प्रश्नलाई कहानीसँग जोडेर समाधन खोज्न सिकाउँथे । पढाउने यस्तो संस्कारले अल्बर्टको गणितप्रति चाख बढ्दै गयो । हुँदै गर्दा, किशोरावस्थामा पुगेपछि गणितप्रति आइन्स्टाइन यति धेरै डुब्न थाले कि, खाना खानसमेत बिर्सन थाले ।

त्यसवेला स्कुलहरूमा धर्मशिक्षा अनिवार्य थियो । रीति-रिवाज र संस्कारलाई त्यतिकै महत्त्व दिइन्थ्यो । १२ वर्षको उमेरसम्ममा अल्बर्टले बाइबलका बारेमा मनग्गे जानकारी हासिल गरे । आमाबाबु पनि धार्मिक चरित्रका थिए । यति हुँदाहुँदै पनि अल्बर्टर्लाई धार्मिक कुराले खासै प्रभाव पार्न सकेन । सायद यो गणितको प्रभाव पनि हुन सक्छ । दस वर्षको उमेरमा अल्बर्टले क्याथोलिक स्कुलमा गणित र धर्मका विषयमा मात्र पढे । उनलाई 'धर्म' अल्छीलाग्दो विषय लाग्दथ्यो । प्राथमिक तहको शिक्षापछि अल्बर्टलाई जिम्नेसियम स्कुलमा भर्ना गरियो । यो स्कुलमा भने हरेक पाठ कण्ठस्थ पार्नुपर्ने बाध्यता थियो । कुनै पनि विषयमा खुलेर छलफल गर्न, प्रश्न गर्न र तर्क गर्न छुट थिएन । परम्परागत सो स्कुलमा शिक्षकले जे भन्थे, त्यसैलाई रट्नुपर्ने अनिवार्य नियम थियो । अल्बर्टका लागि स्कुलका यी दिनहरू पट्यारलाग्दा थिए । कहिलेकाहीँ उनी स्कुलेपरम्परा तोडेर शिक्षकसँग सवालजवाफ गर्थे । उनको कडा प्रश्नसामु शिक्षक निरुत्तर भएपछि उनलाई स्कुलेपरम्परा सम्झाइन्थ्यो । र, उनले शारीरिक दण्डको भागी पनि हुनुपथ्र्यो । हप्ताको तीन-चारपटक त उनी कक्षाकोठाबाट बाहिर निकालिन्थे । यस्तो दण्डले अल्बर्टको प्रश्न सोध्ने स्वभावलाई अरु बलियो बनायो । माध्यमिक तहको पढाइ चल्दै थियो । परिवारको आर्थिकस्थिति जस्ताको त्यस्तै थियो । लघुउद्योग सुुरु भएको आठ वर्ष भइसकेको थियो । तर, व्यवसाय जम्न सकेको थिएन । यही वेला जर्मनीमा नाजी पार्टी र हिटलरको उदय हुन थालेको थियो । यहुदीप्रतिको घृणा बढ्दै थियो । यसले हर्मन परिवारको व्यवसायलाई समेत धक्का पुर्‍यायो ।

मान्छेहरू हर्मन परिवारलाई सहयोग गर्न डराउँथे । यसको प्रत्यक्ष असर अल्बर्टको अध्ययनमा पर्‍यो । तर, उनले पढ्न भने छाडेनन् । आफ्नो कठिन विगतबारे अल्बर्टले लेखेका छन्- 'पढाइप्रति मेरो खुब लगाब थियो । तर, स्कुलमा पाङ न पुच्छरका आदेश खेप्नुपर्दथ्यो । यसले मलाई स्कुलप्रति नै मोहभंग गरायो ।' अल्बर्टलाई घृणा जाग्ने अर्को कुरा पनि थियो- म्युनिखको सडकमा बिहान-बिहानै हुने सैनिक मार्चपास । बाबु हर्मनको उच्च माध्यमिक तहको शिक्षापछि छोराले ओरालो लागेको आफ्नो व्यवसायमा सघाउला भन्ने आशा थियो । तर, संघर्ष गर्दागर्दै पनि बाबु हर्मनले आफ्नो लघुउद्योग बन्दै गर्नुपर्‍यो ।

यसैबीच, अल्बर्टले एउटा स्विस पोलिटेक्निक स्कुलमा पुगेर प्रवेश-परीक्षा दिए । गणितमा त उनको एकाधिकार नै थियो । तर, भाषा र कला विषयमा भने उनी अनुत्तीर्ण भए । त्यसपछि विरक्त आइन्स्टाइन म्युनिख फर्के । त्यतिवेलासम्म उनका बाबुले स्विट्जरल्यान्डमा बस्ने मन बनाइसकेका थिए । यस प्रक्रियाका लागि एक वर्ष लाग्यो । अल्बर्टले यो बीचमा फेरि परीक्षा दिए र हाईस्कुल तह पास गरे । यसपछि भने उनी कहिल्यै नर्फकने मनसायले जर्मन छाडेर जुरिच सहर पुगे । र, पोलिटेक्निक स्कुलमा भर्ना भए । यस स्कुलमा उनी आफ्नी सहपाठी मिलेवा मेरिकका 'ब्वाइ

फ्रेन्ड' बने । दुवैको मित्रता क्रमशः प्रेमी-प्रेमिकाको सम्बन्धमा रूपान्तरित भयो । अल्बर्ट र मिलेवा सँगै बस्न थाले । दुवैको आर्थिक अवस्था राम्रो थिएन । अल्बर्टले कामलाई भन्दा अध्ययनलाई प्राथमिकता दिएका थिए । उनको प्रतिभा देखेर केही स्विस नागरिकले उनलाई स्विस नागरिकता दिलाउन सहयोग गरे । त्यसपछि उनलाई काम पाउन सजिलो भयो ।

अल्बर्ट भौतिक विज्ञान र गणितका विद्यार्थीलाई ट्युसन पढाउन थाले । गर्दागर्दै उनले केही कलेजमा सह-प्राध्यापकको काम गर्न थाले । औपचारिक रूपमा बिहे नगरे पनि मिलेवाले छोरी जन्माइन् । हप्ता दिनपछि छोरीको मृत्यु भयो । अल्बर्ट अध्यापनका अलवा प्रयोगशालामा समय बिताउँथे । संघर्ष गर्दागर्दै अल्बर्टलाई पेटेन्ट अफिसमा काम मिल्यो । अरु कामको तुलनामा पेटेन्टको काम स्थायी थियो । उनले सोचे- 'अब जिन्दगी लाइनमा आयो ।' पेटेन्ट अफिसमा उनी उत्पादनको प्रमाणीकरण गर्ने काम गर्थे । यसपछि बल्ल मिलेवा र आइन्स्टाइनले बिहे गरे । जीवनमा केही स्थायित्व आएपछि उनले कलेज-जीवनका केही सहपाठीसँग मिलेर दर्शन र विज्ञानका बारेमा विचार-विमर्श गर्न एउटा क्लब बनाए । ठट्टैठट्टामा उनले आफ्नो क्लबलाई ' ओलम्पिया एकेडेमी' नाम दिए । पेटेन्ट अफिसमा काम गर्दागर्दै आइन्स्टाइनले सापेक्षता सिद्धान्त खोज गरेका थिए । सिद्धान्त खोजको अनौपचारिक खबरपछि उनी ज्युरिच विश्वविद्यालयम एसोसिएट प्रोफेसर भए ।

युवा अवस्थामा नै अल्बर्टले सफलताको शिखर चुम्ने क्षमता स्पष्ट देखाएका थिए । तर, उनको निजी जीवनमा भने विभिन्न उतारचढाब देखिन थाले । सन् १९१४ मा जब उनी बर्लिन विश्वविद्यालयमा भौतिक विज्ञान विषयका निर्देशक भइसकेका थिए, त्यतिवेला उनको दाम्पत्यजीवनमा खटपट उत्पन्न भयो । पत्नी मिलेवा सम्बन्धविच्छेदका लागि दबाब दिइरहेकी थिइन् । अल्बर्ट भन्थे-'मिलेवा मेरी श्रीमती वा प्रेमिका कम हुन् भने कर्मको साझेदार बढी हुन् ।' यति हुँदाहुँदै पनि मिलेवाले दुई बच्चासहित श्रीमान् अल्बर्टलाई छोड्ने निर्णय गरिन् । एउटा अन्तर्वार्तामा उनले भनेका छन्- मिलेवा मेरो अध्ययन, प्रयोग, खोज र अनुसन्धान कर्मकी एउटी असल साझेदार हुन् ।' अनन्तः अल्बर्टले मिलेवासँगको विच्छेदलाई स्वागत गरेका छन् । भनेका छन्- 'उनले आफ्नो रुचिको बाटो रोजिन् । यसमा मलाई दुःख छैन ।' मिलेवालाई भने अल्बर्टले आफ्नो जीवनमा वैज्ञानिक खोजलाई पहिलो प्राथमिकतामा राखेको चित्त बुझेको थिएन । उनी पहिलो प्राथमिकतामा श्रीमती र बच्चा पर्नुपर्ने जिकिर गर्थिन् । तर, अल्बर्ट भने घन्टाैसम्म खोजमा मस्त रहन्थे । अध्ययन र अनुसन्धानमा व्यस्त रहन्थे । खानपिन र अन्य व्यावहारिक पक्षप्रति उनले खासै ध्यान दिन सकेनन् । उनलाई साथीभाइ र इष्टमित्रले समेत समयमा भेट्न पाउँदैन्थे । एकपटक भारतका चर्चित समाजवादी नेता डा. राममनोहर लोहिया अल्बर्टलाई भेट्न जर्मनी पुगेका थिए । ६ घन्टा लामो प्रतीक्षा गर्दा पनि लोहियाले भेट्न पाएनन् ।

मिलेवासँगै रहँदा पनि अल्बर्टले अर्को एक महिला एलसा लुन्थाविलसँग मित्रता गाँसेका थिए । एलसा आइन्स्टाइनको खुब ख्याल गर्थिन् । सन् १९१७ मा आइन्स्टाइन थलापरेपछि उनले राम्ररी हेरचाह गरेकी थिइन् । पछि उनीहरू वैवाहिक जीवनमा बाँधिए । मिलेवाले पनि अल्बर्टको नयाँ दाम्पत्यजीवनलाई शुभकामना दिइन् । यो वेलासम्म अल्बर्ट प्रतिपादित सिद्धान्तका कारण संसारभर प्रसिद्ध भइसकेका थिए । सन् १९२१ मा अल्बर्टलाई नोबेल पुरस्कार मिल्यो । यो पुरस्कार उनलाई क्वान्टम सिद्धान्तका बारेमा विशेष अनुसन्धान गरेकाले मिलेको थियो । आफ्ना सैद्धान्तिक खोजलाई सरल र सरस तरिकाले अरुलाई बुझाउन सक्ने अचम्मको क्षमता थियो आइन्स्टाइनमा । मानिसहरू उनको यो कलात्मक शैलीप्रति आश्चर्य प्रकट गर्थे । सापेक्षता सिद्धान्तका विषयमा बुझाउन उनले एकपटक भनेका थिए- 'तपाइंको अनुभूति र संवेदनाका अगाडि समय केही होइन । उदाहरणका लागि, तपाईं आफ्नी प्रेमिकासँग समय बिताइरहनुभएको छ भने त्यो समय बितेको स्वयं तपाइंलाई केही पत्तो हुन्न, तर तपाईं तातो तावामा तीन सेकेन्ड मात्र बस्नुभयो भने त्यो समय तपाईंका लागि एक युगबराबरको हुन्छ ।'

सन् १९३३ मा उनलाई अर्को झड्का लाग्यो । बर्लिन विश्वविद्यालयको प्रोफेसर पदबाट हात धुनुपर्‍यो उनले । यहुदी भएकै कारण हिटलरको नाजी सरकारले उनको नागरिकता र सम्पत्तिसमेत खोस्यो । नाजीहरूले यो निर्णय गर्दा उनी पाहुना- प्राध्यापकका रूपमा स-परिवार बि्रटेन र अमेरिकाको भ्रमणमा निस्केका थिए । नाजी सरकारको यो अमानवीय निर्णय विश्वभर फैलियो । अमेरिकाले अल्बर्टलाई आदर स्वरूप न्युजर्सीमा पि्रस्टन इन्स्टिच्युट अफ एड्भान्स स्टडी नामक संस्था खोलिदियो र उनलाई निर्देशक पदमा नियुक्त गर्‍यो । उनी यही संस्थामा रहेर अध्ययन-अनुसन्धानमा लागे । यही संस्थामा काम गर्दागर्दै सन् १९३९ मा अल्बर्टले अमेरिकी राष्ट्रपतिलाई एउटा पत्र लेखे । यतिवेलासम्म दोस्रो विश्वयुद्ध सुरु भइसकेको थियो । पत्रमा अल्बर्टले लेखेका थिए- 'युद्धका खलनायक हिटलरले जर्मनीमा अणु बम बनाउने प्रयास गरिरहेको छ । यो खतरनाक हुन सक्छ । जर्मनीका वैज्ञानिकहरू युरेनियम शुद्धीकरण गरिरहेका छन् ।' अल्बर्टको यो पत्र पढेपछि अमेरिकी राष्ट्रपति रुजवेल्टले आफूहरूले पनि अणु बमका लागि आणविक भट्टी बनाउने काम प्रारम्भ गर्ने निर्णय गरे । सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा खसालिएको अणु बम यही निर्णयको प्रतिफल थियो । यसैका कारण लाखौं जापानीले ज्यान गुमाए । पछि अल्बर्टले आफ्नो जीवनको सबैभन्दा कमजोरी र पछुताउनुपर्ने विषय यही भएको बताएका थिए । उनी सापेक्षतावाद मानवक्षतिका लागि नभएर मानवहितका लागि हुनुपर्नेमा जोड दिँदै आएका थिए

जर्मनीमा नाजीको उदय र यहुदीको उत्पीडनसँगै अल्बर्टले यहुदीहरूका लागि छुट्टै राज्य चाहिने कुरा उठाएका थिए । त्यसैले उनलाई यहुदी राज्यको स्वप्नद्रष्टा पनि भनिन्छ । दोस्रो विश्वयुद्ध समाप्त भएपछि उनको सपना पूरा भयो । यहुदीका लागि भनेर इजरायलको गठन गरियो । इजरायलको गठनसँगै अल्बर्ट आइन्स्टाइनलाई त्यहाँको राष्ट्रपति बन्न आग्रह गरियो । उनले यो प्रस्ताव अस्वीकार गरे । र, भने- 'विज्ञानका समस्याहरूसँग त म केही परिचित छु, तर मानव-समाजका समस्याहरूसँग जुध्न सक्ने क्षमता मसँग छैन । त्यसका लागि म योग्य पनि छैन '

जीवनको उत्तरार्धमा पनि अल्बर्ट निरन्तर विज्ञान र जीवनसम्बन्धी विभिन्न विषयका खोजमा लागिरहे । उनले यो संसारको सृष्टि, जीवन र अन्तर्निहित नियमका बारेमा भएका रहस्यबारे सोधखोज सुरु गरेका थिए । उनी भन्थे- 'यो सृष्टि एउटा लयमा चलेको छ । यसमा केही रहस्य पनि छन् ।' सन् १९५५ अपि्रल १८ मा महाप्रस्थान गर्नुअघिसम्म उनी यिनै रहस्यमा अल्झेका थिए ।

अनुवाद

: नारायण

 



Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?