मधेसका मूल समस्या


मधेसको समस्या समाधान गर्ने नाउँमा आन्दोलन जारी छ । वास्तविक समस्या के हुन् र ती के कारणले समाधान हुन सकेका छैनन् भन्ने नबुझी लहैलहैमा लागेका मेरा बन्धुहरूसँग बहस चलाउन चाहन्छु । मधेसको मूल समस्या भनेको अन्य भागबाट हराउँदै गएको तर मधेसी मूलका बस्तीमा जरा गाडेर बसेको जमिनदारी प्रथा हो । मधेसमा एउटा जमिनदारको महल वरिपरि सयौं सुकुम्बासी किसानका झुप्रा हामीले देखे, भोगेका छौं ।

त्यहाँ धनीहरूको जमिनदारी यति छ कि उनीहरू अझै पनि गाउँमा आफूलाई ठाकुर र जमिनदार साहेब भन्दा गर्व गर्छन् । गरिब यति गरिब छन् सिङ्गो गाउँमै एउटा पनि सिरक नभएको समाचार पढ्न पाइन्छ ।

मधेसी मूलका बस्तीमा महारोगका रूपमा रहेको अर्को समस्या दलितमाथि उपल्ला जातिले गर्ने पशुवत् व्यवहार हो । मधेसी आन्दोलन चलेकै बेलामा पनि रौतहटका दलितलाई मधेसी उपल्ला जातिले गाउँ निकाला गरेको र उनीहरूका चेलीमाथि दुर्व्यवहार भएको समाचार हामीले पढेका छौं । त्यसैगरी केही वर्षअघि सिरहाका चमार जातिका दलितले सिनो उठाउन नमान्दा अहिले मधेसी आन्दोलनका मसिहा बताउने तत्कालीन मन्त्री जयप्रकाश गुप्ताको नेतृत्वमा उपल्लो जातिले चमारहरूलाई गाउँ निकाला गरेका थिए । कल वा इनारमा पानी भर्न नदिने र उनीहरूलाई कुटपिट गरी सिनो फ्याक्न बाध्य पारेका घटना मधेसी दलितले यति चाँडै नभुल्नु पर्ने हो । मधेसी मूलका बस्तीमा अर्को समस्या छ- बोक्सीका नाउँमा महिलामाथि हुने निर्मम दुर्व्यवहार ।

दहेज प्रथा पनि ठूलो समस्या हो । दहेजका नाउँमा बुहारीमाथि गरिने अत्याचार मधेसको मौलिक विशेषता हो । मधेसी मूलका बस्तीमा बाबुआमा बूढा भएपछि पोखरीको डिलमा वा गोठमा लगेर थान्को लगाउने चरम अमानवीय परम्परा कायम छ । मधेसी बस्तीमा गाउँका गाउँ डकैती हुने गर्छ । एक मधेसी प्रहरी नायव निरीक्षकले पदको दुरुपयोग गरी सर्लाहीको मधेसी बस्तीमा डकैती गरेको समेत हामीले पढेकै हो । मधेसमा आफूलाई सच्चा मधेसी बताउनेले मुसलमानलाई पानीअचल गरेका छन् । समग्रमा भन्नुपर्दा मधेसको मूल समस्या भनेको मधेसी उपल्ला जाति वा हुनेखाने वर्गले कायम राखेको सामन्तवाद हो ।

राजमार्ग छेउछाउ, पहाड वा उपत्यका बस्तीमा माथि लेखिएका समस्या मधेसी बस्तीमा भन्दा तुलनात्मक रूपमा कम छ । पहाडी बस्तीमा सामन्तवाद क्रमशः कमजोर हुँदै गएको छ । त्यसै कारण आज मधेसमा राजमार्ग छेउछाउका बस्ती आर्थिकरूपमा विकसित हुँदै गएका छन् भने तिनै तराईका जिल्लामा राणाशासन पालादेखि भारतबाट बिजुली किनेर सिंगारिएका मधेसी बाहुल्यता भएका राजविराज, जनकपुर, जलेश्वर, मलंगवा, गौर, कलैयाजस्ता सदरमुकामको हालत नर्कजस्तो हुँदै गएको छ । मलाई लाग्छ, आजको मधेस आन्दोलनका अगुवा भनिने जयप्रकाश गुप्ता, विजय गच्छदार, उपेन्द्र यादव, सीतानन्दन राय वा गोइत सबै मधेसको सामन्तवाद कायम राख्न कम्मर कसेर लागेका छन् । र, तिनका कठपुतलीका रूपमा ज्वाला सिंहजस्ता दलितसमेत अलमलिएका छन् । आज यी सामन्तवादका नाइकेहरू मधेसी दलित, गरिब र महिलामाथिको शोषण र उत्पीडन बचाइराख्न पहाडीले मधेसीलाई शोषण गरेको खोक्रो नारा लगाउँदै छन् ।

रामवरण यादव, चित्रलेखा यादव, रामविलास पासवान, मातृका यादव, वंशीधर मिश्र, महन्थ ठाकुर, भरतविमल यादवजस्ता सम्मानित मधेसी नेताले साम्प्रदायिक सद्भाव कायम राख्न आह्वान गर्दा जयप्रकाश गुप्ता र विजय गच्छेदारजस्ता अवसरवादीलाई टाउको दुख्नु स्वाभाविकै हो । हिजो मातृका यादवहरूले स्वशासित मधेसको आवाज उठाउँदा आतंककारी बिल्ला भिराएर जेलनेल ठोक्ने र मधेसका सवाल उठाउँदा गजेन्द्रनारायण सिंहलाई विखण्डनकारी भन्ने गुप्ता र गच्छेदारहरू होइनन् -
उपेन्द्र यादवहरू सुजाता कोइरालाको घरमा भात खान्छन् र खुमबहादुरको इसारामा कृष्णप्रसाद सिटौलाको राजीनामा माग्छन् । त्यतिमात्र होइन, आज कमल थापा र बद्री मण्डलजस्ता राजावादी मण्डलेसमेत मधेसी जनताका महिसा बनेर बोल्न थालेका छन् ।

यी सामन्तीले भनेजस्तै स्वायत्त प्रदेश र कथित आत्मनिर्णयका नाउँमा मधेसलाई नेपाली मूलप्रवाहबाट अलग्याउने हो भने त्यो मधेसका दलित, गरिब र महिलामाथिको अत्याचारलाई सदीयौंसम्म कायम राख्नु हुनेछ । त्यो उनीहरूमाथि अन्याय हुनेछ ।

मधेसी जनताको मुक्ति भनेको मधेसबाट जमिनदारी प्रथा, छुवाछूत, बोक्सीको आरोप, दहेज, महिलामाथिको अत्याचार, अन्धविश्वास, कुरीति, चरम व्यक्तिवादी चिन्तन, डकैती, घूसखोरी, बुथ क्याप्चरिङजस्ता सामन्तवादका जराहरूको उन्मूलन गर्नु हो । तर्सथ म सम्पूर्णा न्यायप्रेमी मधेसी जनतालाई सामन्ती तत्वको लहैलहैमा लागेर मधेसी-पहाडी जनताबीचको आपसी सद्भाव बिथोल्ने गरी जारी राखिएको आन्दोलनलाई असहयोग गर्न र सामन्ती अवसरवादी तत्वहरूलाई नंग्याउन हार्दिक अपिल गर्छु ।
- रामचरित्रप्रसाद साह तेली
रौतहट

Comments

Popular posts from this blog

What is ALS ?

Life after death?

लेखन का बारेमा कस्ले के भने ?